काठमाडौं ।
नेपालले बंगलादेशमा जारी बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा चौंथो स्थान हासिल गरेको छ ।
ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल चौंथो स्थानमा रहेको हो । पहिलो सेट २५-२२ ले जितेको नेपालले त्यसपछि दुई सेट लगातार गुमाएको थियो ।
श्रीलंकाले दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१९ ले जितेको थियो । चौंथो सेट नेपालले २५-२० ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं तथा अन्तिम सेटमा नेपाललाई १५-१० ले हराएर श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ ।
यस खेलमा हार व्यहोरेसँगै नेपाल प्रतियोगितामा जित विहीन बनेको छ । प्रतियोगिताको उपाधिका लागि बंगलादेश र किर्गिस्तान भिड्ने छन् । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
