काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मिडल अर्डरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान अनुज रावत यसअघि पनि धेरै पटक चर्चामा आएका थिए।
उनी यसअघि राजस्थान रोयल्सको टोलीमा थिए। तर, उनको आईपीएल करिअर भने त्यो बेला चम्कियो, जुनबेला रोयल च्यालेन्जर्स बैंग्लोरले अक्सनमा करोडौं रुपैयाँमा उनलाई किनेको थियो।
यो सन् २००९ को कुरा हो। नैनीताल जिल्लाको राम नगरका १० वर्षीय अनुजले आफ्नो परिवारका सदस्यहरूलाई दिल्ली गएर क्रिकेटमा करिअर बनाउने योजना सुनाए। नैनीताल सानो शहर थियो।
यो शहर जिम कोर्बेट राष्ट्रिय निकुञ्जको लागि परिचित छ। त्यसैले यहाँ प्रायः पर्यटकहरू आउनेजाने गरिरहन्छन्। यही निकुञ्ज भ्रमणमा धेरै क्रिकेटरहरू पनि आएका थिए। त्यसैले अनुजलाई पनि क्रिकेटर बन्ने हुटहुटी जाग्नु स्वभाविक नै थियो।
उनको क्रिकेटप्रतिको रूचीमा परिवारले पनि मर्न दिएन। उनलाई १० वर्षको उमेर मै दिल्ली पठाइयो। उनले खुब मेहिनेत गरे र सन् २०१६- १७ मा दिल्लीको अन्डर-१९ टोलीमा स्थान बनाए।
उनले अर्को सिजन रणजीमा डेब्यू गरे र एसिया कप अन्डर-१९ खेले। त्यही वर्ष यशस्वी जैसवाल, तिलक वर्मा र रवि बिश्नोईजस्ता खेलाडीहरू जन्मिएका थिए।
आईपीएलको १५औँ संस्करण उनलाई राजस्थान रोयल्सले ८० लाख भारूमा किनेको थियो। सन् २०२१ मा उनले पहिलो पटक खेल्ने मौका पाए र कोलकाता नाइट राइडर्सविरुद्ध मैदान उत्रिए। तर, पहिलो बलमा पेभिलियन फर्किए।
सन् २०२२ मा उनको भाग्य फेरियो। बैंग्लोरले उनलाई सिजन शुरू हुनुभन्दा अघि ३ करोड ४० लाख भारूमा किन्यो। सोही सिजनमा उनले पुणेमा मुम्बई इन्डियन्सविरुद्ध ४७ बलमा ६६ रन बनाएका थिए।
शुक्रबार चेन्नईविरुद्ध उनी मैदान उत्रिँदा बैंग्लोर ११.४ ओभरमा ५-७८ को स्थितिमा थियो। तर, रावतले दिनेश कार्तिकसँग ५० बलमा ९५ रनको साझेदारी गर्दै स्कोर १७४ मा पुर्याए। रावत अन्तिम बलमा महेन्द्रसिंह धोनीबाट रन आउट भए।
उनले २५ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। कार्तिक भने २६ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाउँदै अविजित रहे। अब यो हेर्न बाँकी छ- मिडल अर्डरमा आफ्नो स्थान बनाएका रावतले आगामी खेलमा कस्तो प्रदर्शन गर्छन्?