काठमाडौँ। मोहम्मद आमिरले अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट शुरू हुने टी–२० विश्वकपका लागि आफू उपलब्ध रहेको घोषणा गरेका छन्। यसको अर्थ उनी रिटायरमेन्टबाट फर्किएका हुन् भन्ने स्पष्ट हुन्छ।
पाकिस्तानी टोलीबाट आमिरले सन् २०२० मा इंग्ल्यान्डविरुद्ध अन्तिम टी–२० खेल खेलेका थिए। उनले सोही वर्ष डिसेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए र आफू मानसिक रूपमा यातना भोगिरहेको बताएका थिए।
‘म अझै पनि पाकिस्तानबाट खेल्ने सपना देख्छु! जीवनले हामीलाई यस्तो बिन्दुमा ल्याउँछ, जहाँ कहिलेकाहीँ हामीले हाम्रा निर्णयहरूमा पुनर्विचार गर्नुपर्ने हुन्छ,’ ३१ वर्षीय आमिरले सामाजिक सञ्जालमा भनेका छन्।
आफू र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)बीच केही सकारात्मक छलफल भएको उनले जनाएका छन्। ‘बोर्डले संकेत गरेको छ, म राष्ट्रिय टोलीमा आवश्यक पर्न सक्छु र अझै पनि पाकिस्तानबाट खेल्न सक्छु,’ उनले लेखेका छन्।
आमिरले भर्खरै पाकिस्तान प्रिमियर लिग (पीएसएल)मा सहभागिता जनाएका थिए। क्वेटा ग्लाडिएटर्सबाट खेलेका उनले ८.४१ को इकोनोमीमा ९ खेलमा १० विकेट लिएका थिए।