काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ ।
सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो। उक्त खेलमा आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपाली टोली आयरल्याण्ड ‘ए’ सँगको श्रृंखला खेलेपछि भारत प्रस्थान गर्नेछ । त्यहाँ नेपालले रणजी क्लब बरोडा र गुजरातसँग खेल्ने तालिका छ, जसअन्तर्गत नेपालले चैत १८ र २१ गते गुजरात तथा चैत २० र २३ गते बरोडासँग खेल्नेछ ।
भारत भ्रमण सकाएर नेपाली टिम एसिया कप छनोट अर्थात् प्रिमियर कप खेल्न ओमान जानेछ । प्रिमियर कपमा नेपालले १२ अप्रिलमा मलेसिया, १३ अप्रिलमा कतार, १५ अप्रिलमा हङकङ र १७ अप्रिलमा साउदी अरेबियासँग खेल्ने तालिका छ । प्रतियोगिताको उपाधि जित्न सके नेपालले आउँदो वर्ष हुने एसिया कप खेल्न पाउनेछ ।
यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ । पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई आज मौका दिने सम्भावना छ ।
नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
आयरल्यान्ड ए को टोली : निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।