Khabar Board

आईपीएल : चेन्नई र गुजरात भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो संस्करणका दुई फाइनलिस्ट चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच मंगलबार हुने खेलमा नयाँ कप्तानद्वय शुभमन गिल र ऋतुराज गायकवाडको नेतृत्व क्षमताको परीक्षण हुनेछ।

यी दुवै ओपनिङ ब्याट्सम्यान हुन् र कलात्मक ब्याटिङका ​​लागि परिचित छन्। तर, यो खेलमा सबैको ध्यान उनीहरूको रणनीतिक क्षमतामा पनि केन्द्रित हुनेछ। महेन्द्रसिंह धोनीले आईपीएल अघि गायकवाडलाई कप्तानी सुम्पेका थिए। गायकवाडले रोयल च्यालेन्जर्स बैंगलुरूविरुद्ध आफ्नो नेतृत्व क्षमता राम्रोसँग निर्वाह गर्दै ६ विकेटको जित दिलाएका थिए।

चेन्नईको पछिल्लो खेलमा फास्ट बलर तुषार देश पाण्डेले ४ ओभरमा ४७ रन खर्चिएका थिए। उनले कुनै विकेट लिन सकेनन्।

शार्दूल ठाकुर र मुकेश कुमार प्लेइङ ११ मा स्थानका लागि बलियो दाबेदार मानिँदै आएका छन्। त्यसैले टोलीमा आफ्नो स्थान कायम राख्न तुषारलाई गुजरातविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्ने दबाब थपिएको छ।

चेन्नईका लागि राम्रो कुरा बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले राम्रो प्रदर्शन गरेका थिए। उनले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए। उनी यो सिजन टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन्।

यता, हार्दिक पाण्डेया मुम्बई इन्डियन्समा फर्किएपछि कप्तानी सम्हालेका गिलले पनि आफ्नो पूर्वकप्तानको अगाडि नयाँ भूमिकामा राम्रो प्रदर्शन गर्दै गुजरातलाई ६ रनको महत्त्वपूर्ण जित दिलाएका थिए। गिल अहिले २४ वर्षका छन् र आईपीएलका सबैभन्दा कान्छो कप्तान हुन्।

रणनीतिक कौशलमा निपुण मुख्य प्रशिक्षक आशिष नेहरा र अनुभवी डेभिड मिलर र केन विलियम्सनको उपस्थितिले गिललाई निखारिन अझ सजिलो भएको छ।

पहिलो खेल जितेर दुवै टोली आमनेसामने हुँदैछन् र उनीहरूको लक्ष्य जितको सिलसिला कायम राख्ने हुनेछ। चेन्नईले मंगलबारको खेलमा आफ्नो ब्याटिङ लाइनमा कुनै परिवर्तन गर्ने सम्भावना छैन।

अर्कोतर्फ, गुजरातले ब्याटिङ लाइनमा केही परिवर्तन गर्न सक्ने सम्भावना छ। पछिल्लो खेलमा मुम्बईका ब्याट्सम्यानले राम्रो शुरूआत गरेपनि ठूलो स्कोरमा परिणत गर्न सकेनन्। तर, बलरले राम्रो प्रदर्शन गरेका कारण गुजरात विजयी भयो। यी दुईबीच हालसम्म ५ खेल भइसकेका छन्। जसमा गुजरातले ३ पटक र चेन्नई २ पटक जितेका छन्। चेन्नईले पछिल्ला दुई खेल जितेको हो।

गत संस्करणको प्लेअफमा चेन्नईले गुजरातलाई १५ रनले पराजित गरेको थियो। फाइनलमा पनि सोही लयलाई कायम राख्दै चेन्नईले गुजरातलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.