काठमाडौं । नेपाल महिला राष्ट्रिय क्रिकेट टिमले एसीसी महिला एसिया कप २०२४ खेल्ने भएको छ । आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपालले पनि सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार जानकारी दिएको छ ।
एसियाली क्रिकेट काउन्सिल(एसीसी) ले मंगलबार जारी गरेको खेल तालिकामा नेपालले प्रवेश पाएको जनाएको छ । एक महिना अघि मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपको फाइनल पुग्न नसके पछि नेपालको दोस्रो पटक एसिया कप खेल्ने सपना सकिएको थियो । तर, मंगलबार एसीसीले जारी गरेको खेलतालिकामा नेपालको नाम पाए पछि कपमा नेपालले कसरी प्रवेश पायो भन्ने जिज्ञासा बढेको छ ।
महिला एसिया कपमा सहभागी रहने राष्ट्रको संख्या बढाएसँगै नेपालले एसिया कप खेल्ने मौका पाएको हो । प्रिमियर कपको फाइनलमा पुगेका दुई तथा अफगानिस्तान बाहेक एसियाका चार टेस्ट राष्ट्रको सहभागीता रहने थियो । तर, प्रिमियर कपमा सेमिफाइनलसम्म पुगेका नेपाल र थाइल्यान्डलाई यो मौका दिदै एसीसीले सहभागी राष्ट्रको संख्या ६ बाट ८ पुर्याएको छ ।
एसिया कपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले उद्घाटन खेलमै पाकिस्तानको समना गर्ने छ । नेपाल समूह ‘ए’मा रहेको छ । यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक तथा साविकको उपविजेता श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेल जुलाई १९ मा पकिस्तानसँग खेल्ने छ । यस्तै, दोस्रो खेल जुलाई २१ मा यूएईसँग खल्ने छ । समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतसँग खेल्ने छ । दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन् ।
यो नेपाली महिला टिमको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि २०१२ र २०१६ मा टि–२० एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टी–२० फर्म्याटमा हुनेछ ।