Khabar Board

युवा तथा खेलकुद मन्त्रालयले माग्यो क्यान र एन्फाको कागजात

काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)का कागजातहरूको प्रतिलिपी उपलब्ध गराइदिन पत्र काटेको छ। मन्त्रालयले मंगलबार दुई संघको कागजात उपलब्ध गराइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई उक्त पत्र काटेको हो।

‘क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आम जनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा बिदितै छ।

उक्त खेलहरूको विकासको लागि थप योजना, नीति तथा रणनीति तयार गर्ने सन्दर्भमा तत् तत् खेलसम्वद्ध संघहरूको काम, कारबाही एवं क्रियाकलापसँग सम्बन्धित देहायका विवरण एवम् कागजातहरुको प्रमाणित प्रतिलिपीहरु ( बुँदागत माग भए अनुसार स्पष्ट उल्लेख गरी) यथाशीघ्र उपलब्ध गराइदिनु हुन निर्देशानुसार अनुरोध गर्दछु,’ मन्त्रालयका शाखा अधिकृत लालप्रसाद पोखरेलले पठाएको पत्रमा भनिएको छ।

पत्रमा संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीहरुको नाम, ठेगाना, सम्पर्क नम्बर र पदावधि, कार्यकारीको भूमिका निर्वाह गर्ने पदाधिकारी र कर्मचारीको नाम, पद र सम्पर्क नम्बर उपलब्ध गराइदिन भनेको छ।

यस्तै,कार्यरत कर्मचारीहरु (स्थायी, अस्थायी, करार, ज्यालादारीसमेत),पछिल्लो ३ वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन, भौतिक पूर्वाधार र उपकरणहरूको विवरण, खेलको विकासका लागि प्रदेश र स्थानीय तहसम्मका सञ्जाल तथा गतिविधिहरू, खेलको विकासको लागि संघबाट तयार भएका योजना, गुरुयोजना तथा कार्यक्रमहरु, पछिलो ३ वर्षमा सहभागिता भएको अन्तर्राष्ट्रिय प्रतियोगिता (मिति र स्थान), पदाधिकारीहरूले गरेको विदेश भ्रमणको विवरण र संघको आम्दानीको स्रोत ( वैदेशिक समेत खुलाउने)गरी कागजात उपलब्ध गराइदिन पत्रमा भनिएको छ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.