नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज

Image

काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शुक्रबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ। यो खेल बिहीबार नै खेल्ने तय थियो। तर, बुधबार रातिदेखिको वर्षाका कारण आउटफिल्ड भिजेपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्दै तालिका परिवर्तन गरेको थियो।

नयाँ तालिका अनुसार चैत १६, १७ र १८ गते नेपाल र आयरल्यान्डले टी–२० शृंखला खेल्ने छ। तीन खेलको टी–२० शृंखला सकिएलगत्तै तीन खेलको एक दिवसीय शृंखला शुरू हुने छ। उक्त शृंखला चैत २०, २२ र २४ गते हुनेछ।

भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी–२० शृंखला खेलेको थियो। कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि नेपालले दबदबा कायम राख्दै ७१ रनको जित हासिल गरेर शृंखला २–० ले आफ्नो पक्षमा बनाएको थियो।

आयरल्यान्ड उल्भ्सविरुद्ध मैदान उत्रिने नेपाल ‘ए’ टोलीको कप्तानी विनोद भण्डारीले गर्ने छ। टोलीमा उनीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान रहेका छन्।

यस्तै, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धमी र विकाश आग्री पनि टी२० टोलीमा हुने छन्।