काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा ओपनर क्विटन डि ककको अर्धशतकको सहयोगमा लखनाउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ ।
बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा भएको खेलमा पाहुना टोली २८ रनले विजयी भयो ।
लखनाउले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १९ दशमलब ४ ओभरमा १ सय ५३ रन मात्र बनाउदै अल आउट भयो ।
बेंगलुरुका लागि महिपाल रुमरोरले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन बनाए । रजत पाटीदारले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए । विराट कोहलीले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए ।
बेंगलुरुका लागि विराट कोहली र कप्तान फाफ डु प्लेसिसले राम्रो सुरुआत दिलाए पनि मनिरमरन सिद्धार्थले कोहलीलाई आउट गरेर पहिलो झड्का दिएका थिए । पहिलो विकेटका लागि कोहली र फाफले २६ बलमा ४० रनको साझेदारी गरेका थिए ।
लखनाउका लागि मंयक यादवले ३ तथा नभिन उल हकले २ विकेट लिए । यश ठाकुर, मनिमरन सिद्धार्थ, मार्कस स्टोईनेसले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
लखनाउका लागि ओपनर क्विटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेले । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्काको सहयोगमा अविजित ४० रन बनाए । मार्कस स्टोईनेसले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए । कप्तान केएल राहुलले १४ बलमा २ छक्काको सहयोगमा २० रन बनाए ।
बेंगलुरुका लागि ग्लेन म्याक्सवेलले २ तथा यस दयाल, रिच टोप्ली र मोहम्मद सिराजले समान १/१ विकेट लिए ।
लगातार दोस्रो जितका साथ लखनाउ दश टिम सहभागी लिगको चौथो स्थानमा उक्लिएको छ । चौथो खेलमा तेस्रो हार व्यहोरेको बेंगलुरु पुछारबाट दोस्रो स्थानमा छ ।