काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।
गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् ।
बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ ।
अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक यादव, ललित राजवंशी र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ। आज यी चारमध्ये दुईलाई मौका दिनसक्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् ।
गुजरातका रुद्रमयुर पटेलले बरोडाविरुद्ध ७० रन बनाएका थिए । कप्तान उमांग पटेल, अर्यान देशाई र रुद्र प्रमुख ब्याटर हुन् ।
नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
गुजरातको टोली : उमांग पटेल (कप्तान) ,अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।