Khabar Board

गुजरातविरुद्ध पञ्जाबको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १७ औं खेलमा गुजरात टाईटन्समाथि पन्जाब किंग्सले रोमान्चक जित हात पारेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा चौथो खेलमा दोस्रो जित हात पार्ने क्रममा पन्जाब ३ विकेटले विजयी भयो । गुजरातले दिएको २ सय रनको लक्ष्य पन्जाबले १९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबका लागि शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेले । प्रसिमरन सिंहले २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । ओपनर जोनी बेयस्ट्रोले १३ बलमा ४ चौकाको सहयोगमा २२ रन बनाए । जितेश शर्माले ८ बलमा २ छक्काको सहयोगमा १६ रन बनाए ।

अन्तिम ओभरमा ७ रन चाहिएकोमा पन्जाबका आशुुतोष शर्मा र शशांक सिंह क्रिजमा रहेकामा गुजरातका लागि दर्शन नालकन्डे बलिङमा आएका थिए । ओभरको पहिलो बलमा नै उनले शर्मालाई आउट गराए । शर्माको आउटसँगै क्रिजमा आएका हरप्रित ब्रारका लागि नालकन्डेको बल वाइड भएको थियो । ओभरको तेस्रो बलमा १ रन लिदै ब्रारले सिंहलाई स्ट्राईक दिए ।

अर्को बलमा सिंहले चौका प्रहार गर्दै खेललाई जित नजिक पुर्याए । ओभरको पाँचौ बलमा एक रन लिदै सिंहले पन्जाबलाई जित दिलाए ।

गुजरातका लागि नुर अहमदले २ तथा दर्शन नालकन्डे, मोहित शर्मा, अजमतुल्लाह उमरजाइ, राशिद खान र उमेश यादवले समान १/१ विकेट लिए ।

त्यअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले कप्तान शुभमन गिलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ खेले । साई सुदर्शनले १९ बलमा ६ चौकाको सहयोगमा ३३ रन बनाए । गिल र सुदर्शनले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे । राहुल तिवातियाले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए ।

केन विलियम्सले २२ बलमा ४ चौकाको सहयोगमा २६ रन बनाए । ओपनर रिद्धिमान शाहले १३ बलमा ११ तथा विजय शंकरले १० बलमा ८ रन बनाए ।

पन्जाबका लागि कागिसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेले समान १/१ विकेट लिए ।

चौथो खेलमा दोस्रो जित हात पारेको पन्जाब ४ अंकका साथ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित गुजरात ४ अंकका साथ छैटौ स्थानमा छ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.