Khabar Board

नेपालले टस हार्यो पहिला फिल्डिङ गर्ने, रोहित बेन्चमा

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले टस हारेको छ । बरोडाला कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाउने छन् भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका छन् ।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्ने छन् । नेपाल र गुजरात दुवै टोली फाइनल प्रवेश गरिसकेका छन् । नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ४ खेलमा ४ अंक छ भने बरोडा ३ खेलमा अंकविहिन छ ।

खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

नेपाली टोली: दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, प्रतिश जिसी, ललित राजबंशी, करन केसी, आकाश चन्द

बेन्च: रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेख

नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो ।

बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।

यस्तै तेस्रो खेलमा नेपालले गुजरात माथि ८ रनको जित निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.