Khabar Board

नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य

काठमाडौँ। बरोडा क्रिकेट एसोसिएसनले एसएमएस फ्रेन्डसिप कपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनायो ।

बरोडाका लागि शाश्वत रावतले २७ बल खेल्दै सर्वाधिक ३१ रन बनाए । ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्का सहित विष्फोटक इनिङ खेल्दै २९ रन बनाए ।

यस्तै ओपनर अमित पासीले २४ बलमा २६ रनको योगदान गरे । मोहित मोंगियाले २० बलमा ४ चौका सहित २२ रन बनाए । अभिमन्यु सिंह राजपुतले ११ रनको योगदान गरे ।

नेपालका लागि करन केसी र गुलशन झाले समान २-२ विकेट लिए भने आकाश चन्द, प्रतिश जिसी, ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाउने छन् भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका छन् ।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् । नेपाल र गुजरात दुवै टोली फाइनल प्रवेश गरिसकेका छन् । नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ४ खेलमा ४ अंक छ भने बरोडा ३ खेलमा अंकविहिन छ ।

खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

नेपाली टोली: दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, प्रतिश जिसी, ललित राजबंशी, करन केसी, आकाश चन्द

बेन्च: रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेख

नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो ।

बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।

यस्तै तेस्रो खेलमा नेपालले गुजरात माथि ८ रनको जित निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.