काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा आज नेपालले फाइनल खेल्दैछ। गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आइतबार (आज) दिउँसो १ः१५ बजे देखि नेपालले गुजरातविरुद्ध फाइनल प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि भएका दुई प्रतिस्पर्धामा गुजरात नेपालसँग पराजित भएको टिम हो । लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो।
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको थियो। अघिल्लो आइतबार भएको खेलमा जितको लागि ९९ रनको सहज लक्ष्य पछ्याएको नेपालले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।
मङ्गलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले हरायो। जितका लागि एक सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २९ रनमा समेटिएको थियो।
त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको थियो। गुजरात पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन मात्र बनाएको थियो।
आज नेपालले फाइनलमा प्लेइङ ११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । नेपालले कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र सोमपाल कामीलाई प्लेइङ–११ मा समावेश गरेर प्रतिश जिसी, आकाश चन्द र विवेककुमार यादवलाई विश्राम दिने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, गुलशन झा, रोहितकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।
नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो ।
एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो ।
एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्वपूर्ण प्रतियोगिता हो ।
भारत भ्रमण र त्यसपछि एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् ।