काठमाडौं । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ ।नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् ।
नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेख टोलीमा फर्किएका छन् भने आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् ।
नेपालको प्लेईङ-११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा
बेन्च: आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, ललित राजवंशी
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आज दिउँसो १ः१५ बजे देखि नेपालले गुजरातविरुद्ध फाइनल प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि भएका दुई प्रतिस्पर्धामा गुजरात नेपालसँग पराजित भएको टिम हो । लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो।
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको थियो। अघिल्लो आइतबार भएको खेलमा जितको लागि ९९ रनको सहज लक्ष्य पछ्याएको नेपालले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।
मङ्गलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले हरायो। जितका लागि एक सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २९ रनमा समेटिएको थियो।
त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको थियो। गुजरात पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन मात्र बनाएको थियो।