गुजरातलाई हराउँदै नेपालले जित्यो फ्रेण्डसिपको उपाधि

Image

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकको सहयोगमा एसएमएस फ्रेन्डसिप कपको फाइनल खेलमा नेपालले गुजरात पराजित गरेको छ ।

गुजरातमा भएको फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो ।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

गुजरातका लागि कप्तान उमगं रोहितकुमारले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए । आर्य देशाईले २४ बलमा ३६ रन बनाए ।

नेपालका लागि अभिनास बोहोराले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर आसिफ शेखले ३४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

कुशल मल्लले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३१ रन बनाए । कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए ।

गुजरातका लागि जयमित पटेल, तेजस पटेल, शन पटेल र जाला युवराजले समान एक एक विकेट लिए ।