काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्सले जित हात पारेको छ ।
लखनाउको घरेलु मैदान एकना क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । लखनाउले दिएको १ सय ६८ रनको लक्ष्य दिल्लीले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीका लागि ज्याक फ्रेसरले ३५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान रिषभ पन्तले २४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए । पन्त र ज्याकले तेस्रो विकेटका लागि ७७ रनको महत्वपुर्ण साझेदारी गरे ।
ओपनर पृथ्वी शाँले २२ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । त्यसअघि टस जितेर पहिले बलिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
लखनाउका लागि आयुष बदोनीले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ५५ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले २२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए ।
ओपनर क्विनटन डि ककले १३ बलमा ४ चौकाको सहयोगमा १९ रन बनाए । अर्शद खानले १६ बलमा २ चौकाको सहयोगमा अविजित २० रन बनाए ।
दिल्लीका लागि कुलदिप यादवले तीन तथा खलिल अहमदले दुई विकेट लिए । छैटौं खेलमा दोस्रो जित हात पारेको दिल्ली अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । पाँचौ खेलमा दोस्रो हार सहित लखनाउ चौथो स्थानमा छ ।