कप्तान रोहितले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

Image

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इतिहास रचेका छन् । उनले एकदिवसीय र टी–२० आई दुवै ढाँचामा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बन्दै इतिहास रचेका हुन् ।

रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन् । रोहितले ४४ खेलका ४२ इनिंगमा आफ्नो एक हजार रन पुरा गरेका छन् । टी-२० मा उनको उच्च रन ६१ रहेको छ ।

उनी नेपालबाट टी-२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । नेपालका लागि टी- २० अन्तर्राष्ट्रिय खेलमा सर्बाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन् । ऐरीले अहिलेसम्म १४९६ रन बनाएका छन् । उनी पछि कुशल भुर्तेलले १०३७ रन बनाएका छन् ।
एसीसी प्रिमियर कपमा आज कतारसँग भिड्दै नेपाल : 

एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।

नेपाल र कतारको अन्तिम भेट :

नेपाल र कतार २०१९ आईसीसी टि-२० विश्वकप एसिया क्षेत्रीय छनोट फाइनलको समुह चरणको खेलमा आमने-सामने भएका थिए। उक्त खेलमा कतार ४ विकेटले विजयी भएको थियो। सिंगापुरमा भएको सो खेलमा नेपालले दिएको १ सय २३ रनको लक्ष्य कतारले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।

समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् । प्रतियोगितामा नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी(२० फर्म्याटमा हुनेछ ।

नेपाली टोली : रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।