काठमाडौं । ओमनमा हिजोदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले कतार विरुद्ध टस जितेको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् । खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । सोही समयमा समूह ए मा नै रहेका मलेसिया र साउदी अरेबिया पनि भिड्नेछन् । यस समूहमा हंगकंग पनि रहेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा हिजो मलेसिया माथि ५ विकेटको जित दर्ता गरेको थियो । यस्तै हंगकंगले हिजो कतारलाई हराएको थियो ।समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।
ओमान र युएईले हिजो नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो ।
युएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ । कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
नेपालको प्लेइङ-११: आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा
बेन्च: प्रतिश जिसी, अनिल शाह, करन केसी