काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गत कतारविरूद्धको खेलमा नपालले दोस्रो विकेट गुमाएको छ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७.५ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो।
पौडैल कतारका हिमांशु राथोडको बलमा मोहम्मद तनवीरबाट क्याच आउट भएका हुन्। आउट हुनुअघि उनले १७ बलमा ३ चौका प्रहार गरी १८ रनको योगदान गरे। पौडेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्। नेपालले २.४ ओभरमा पहिलो विकेटमा ओपनर कुशल भूर्तेललाई गुमाएको थियो।
भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भएका थिए। आउट हुनुअघि भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रन बनाएका थिए। ८ ओभर सकिँदा नेपाल २ विकेट गुमाएर ६७ रन बनाएर खेलिरहेको छ।
नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् । खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । सोही समयमा समूह ए मा नै रहेका मलेसिया र साउदी अरेबिया पनि भिड्नेछन् । यस समूहमा हंगकंग पनि रहेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा हिजो मलेसिया माथि ५ विकेटको जित दर्ता गरेको थियो । यस्तै हंगकंगले हिजो कतारलाई हराएको थियो ।समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।
ओमान र युएईले हिजो नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो ।
युएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ । कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
नेपालको प्लेइङ-११: आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा
बेन्च: प्रतिश जिसी, अनिल शाह, करन केसी