काठमाडौँ । दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।
एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए । ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेलमा सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको।बलमा क्याच आउट भए । कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए ।
कुशल मल्लले भने विष्फोटक सुरुवात गरेका थिए । १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाएर कुशल मल्ल मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे ।
सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए ।
सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे ।
आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे । कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए ।
नेपालको प्लेइङ-११ : आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा
बेन्च: प्रतिश जिसी, अनिल शाह, करन केसी