काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
मुम्बईको घरेलु मैदान वानंखडेमा चेन्नईले २० रनको जित हात पारेको हो । चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि ओपनर रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित १ सय ५ रनको शतकीय ईनिङ खेले पनि अज्य खेलाडीको बलियो साथ पाउँन नसक्दा टोलीलाई जितसम्म पुर्याउन सकेनन् । तिलक बर्माले २० बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाए ।
अर्का ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । पहिलो विकेटका लागि शर्मा र किशनले ४३ बलमा ७० रनको साझेदारी गरे ।
चेन्नईका लागि मधिशा मधिरानाले चार तथा मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
चेन्नईका लागि ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्धशतक बनाए । दुवेले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए । कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाए ।
दुवे र गायकवाडले तेस्रो विकेटका लागि ४५ बलमा ९० रनको महत्वपुर्ण साझेदारी गरे । ओपनर रचिन रविन्द्रले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । अर्का ओपनर अजिंका रहाणेले ५ रन मात्र बनाउन सके । ड्यारियल मिचेलले १४ बलमा १७ रन बनाए ।
महेन्द्रसिंह धोनी २० रनमा अविजित रहे । मुम्बईका लागि हार्दिक पान्ड्याले दुइ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले समान एक एक विकेट लिए । छैटौं खेलमा चौथो जितका साथ चेन्नई तेस्रो स्थानमा कायमै रहेको छ । छैटौं खेलमा चौथो हार व्यहोरेको मुम्बई पुछारबाट तेस्रो स्थानमा छ ।