एसिसी प्रिमियर कपमा आज हङकङसँग खेल्दै नेपाल

Image

काठमाडौँ । ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ।

कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ। नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो।

दोस्रो खेलमै नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका थिए। नेपालका लागि दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

जसका कारण दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भए। उनी एकै ओभरमा छ छक्का प्रहार गर्ने तेस्रो अन्तराष्ट्रिय खेलाडी बनेका थिए। १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।