काठमाडौँ । ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत हङकङसँगको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।हङकङको दोस्रो विकेट लिनेक्रममा गुलशनकुमार झाको ओभरमा दीपेन्द्र सिंह ऐरीले कप्तान निजाकत खानलाई १२ रनमा रनआउट गरे ।
हङकङसँगको खेलमा नेपाललाई पहिलो बिकेट तीव्र गतिका बलर करण केसीले लिए । करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए ।
अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् । खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ । वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८/१८ ओभरको झारिएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरिएको छ ।
नेपालले विवेककुमार यादवको स्थानमा करण केसीलाई मौका दिएको हो । जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो ।
नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ । हङकङले दुई खेल खेल्दा एकमा जित र एक खेलमा पराजय बेहोरेको छ । उसले पहिलोमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ५५ रनले पराजय बेहोरेको थियो ।
हेड टु हेड हेर्दा हालसम्म नेपाल र हङकङले ११ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले ६ तथा हङकङले ४ खेलमा जित निकालेको विगत छ । यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ ।
नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अविनाश बोहरा र ललितनारायण राजवंशी ।
बेन्च : प्रतिश जि.सी.अनिल शाह र विवेक यादव ।