अविनाश बोहराले लिए हङ्कङको छैटौँ विकेट

Image

काठमाडौँ ।  ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत हङकङसँगको खेलमा नेपाललाई छैटौँ सफलता तीव्र गतिका बलर अविनाश बोहराले दिलाएका छन् । उनले १२.१ ओभरमा यासिम मुर्तजालाई २ रनमा बोल्ड गर्दै नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।

नेपाललाई पाँचौं सफलता स्पिनर ललितनारायण राजवंशीले दिलाए । उनले ११.२ ओभरमा एजाज खानलाई सात रनमा एल्बीडब्लू धरापमा पारे । ललितले नै नेपाललाई चौथो सफलता दिलाएका थिए । उनले ९.२ ओभरमा बाबर हयातलाई ६ रनमा पवेलियन फर्काए । नेपाललाई तेस्रो विकेट अविनाश बोहराको ओभरमा गुलशनकुमार झाले रनआउटको रूपमा दिलाए ।

उनले ८.२ ओभरमा उत्कृष्ट फिल्डिङ गर्दै अंशुमन रथलाई ३४ रनमा रनआउट गरे । नेपाललाई दोस्रो सफलता पनि रनआउटको रूपमा प्राप्त भयो । हङकङको दोस्रो विकेट पतन हुनेक्रममा गुलशनकुमार झाको ओभरमा दीपेन्द्र सिंह ऐरीले कप्तान निजाकत खानलाई १२ रनमा रनआउट गरे । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले तेस्रो ओभरको पहिलो बलमा मार्टिन कोएत्जीलाई ८ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् । खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको हो । वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८/१८ ओभरको झारिएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरिएको छ ।

नेपालले विवेककुमार यादवको स्थानमा करण केसीलाई मौका दिएको हो । जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो ।

नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ । हङकङले दुई खेल खेल्दा एकमा जित र एक खेलमा पराजय बेहोरेको छ । उसले पहिलोमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ५५ रनले पराजय बेहोरेको थियो ।

हेड टु हेड हेर्दा हालसम्म नेपाल र हङकङले ११ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले ६ तथा हङकङले ४ खेलमा जित निकालेको विगत छ । यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ ।

नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अविनाश बोहरा र ललितनारायण राजवंशी ।

बेन्च : प्रतिश जि.सी.अनिल शाह र विवेक यादव ।