Khabar Board
Flash logo up side
flash header

नेपालसँग लज्जास्पद हारपछि यस्तो भन्छन् हङकङका कप्तान निजाकत खान

Nirbachan m

काठमाडौं ।  नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार खेलिएको दोस्रो खेलमा कतारले मलेसियालाई चार विकेटले हराएपछि नेपाल समूहगत चरणको आफ्नो अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको हो ।

Center article

त्यसअघि सोमबार नै खेलिएको पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटले हराएको थियो । जारी प्रतियोगितामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

समूह ए मा नेपालसँगै हङकङ समिफाइनलको दावेदार मानिएको थियो । तर, लगातार दुई खराब प्रदर्शनले हङकङलाई समूह चरणबाटै आउट हुने डीलमा पुर्याएको छ । तीन खेल खेलेको हङकङले दुई हार र एक जितसँगै दुई अंक मात्र बटुल्न सफल भएको छ । अब सेमिफाइनलमा जाने/नजाने उसको हातमा मात्र छैन ।

समूहको शीर्ष स्थानमा रहेको नेपालले लगातार तीन जितसँगै ६ अंक बटुलिसकेको छ । आजको ठूलो जितसँगै नेपालले आफ्नो रन रेटमा पनि सुधार गर्न सफल भयो । नेपालका लागि अब सेमिफाइनलको औपचारिकता मात्रै बाँकी छ । अन्तिम खेल नेपालले साउदी अरबविरुद्ध खेल्नेछ ।

साउदी अरब र मलेसियाले पनि एक/एक खेल जितेका छन् । उनीहरुले २ खेल खेल्न बाँकी नै छ । दुई खेल खेलेको कतारले भने दुवैमा पराजय व्यहोरेको छ ।

आजको हारपछि हङकङका कप्तान निजाकत खानले निराशा व्यक्त गरेका छन् । नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा आफूहरुलाई पछारेको उनले स्वीकारोक्ति गरे । खानले भने, ‘साउदीविरुद्धको हार हामीलाई धेरै भारी परेको थियो । आजको खेलमा हामी जितको लक्ष्यका साथ उत्रिएका थियौं । तर, नेपालले हाम्रोभन्दा धेरै राम्रो खेल्यो । नेपालले सबै क्षेत्रमा हामीलाई पछार्यो । उनीहरुको फिल्डिङ पनि निकै खतरनाक थियो । म आफैं पनि रनआउट भएँ । त्यो एउटा टर्निङ प्वाइन्ट थियो । तर सबै क्रेडिट नेपाललाई दिन चाहन्छु ।’

खानले अबका नतिजाहरु आफ्नो टिमको फेभरमा आउने आशा व्यक्त गरेका छन् । ‘अझै पनि केही भन्न सकिन्नँ । हाम्रो एउटा खेल मलेसियाविरुद्ध बाँकी छ । त्यसमा राम्रो जित निकाल्न चाहन्छौं । कतारले हामीलाई फेभर गर्ला भन्ने आशा छ’, उनले भने ।

नेपालका कप्तान रोहित पौडेलले बलरहरुलाई जितको क्रेडिट दिए । नयाँ बलमा बलरहरुले राम्रो सुरुवात दिएपछि सहज भएको उनको भनाइ छ । ओपनिङ ब्याट्सम्यानहरुको पनि पौडेलले प्रशंसा गरे । आजको प्लेयर अफ द म्याचको पुरस्कार अविनाश बोहरालाई दिइएको छ । उनले ३ विकेट लिएका थिए ।

अब साउदी अरेबियाले दुई खेल खेल्न बाँकी छ भने अन्य चारवटै टोलीले एक/एक खेलमात्र खेल्न बाँकी छ । प्रतियोगितामा मंगलबार कतार र साउदी अरेबियाबिच खेल हुनेछ । समूहगत चरणको अन्तिम दिन बुधबार नेपाल र साउदी अरेबिया तथा मलेसिया र हङ्कङबिच खेल हुनेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.