शतक प्रहार गरेका ट्राभिस हेड भन्छन्- अर्को लक्ष्य ३०० रनको टार्गेट दिने

Image

काठमाडौँ।  इण्डियन प्रिमियर लिग (आइपिएल) कै इतिहासकै उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादले जित निकालेको छ । हैदराबादले गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २५ रनको जित निकालेको हो ।

यसपटक ट्राभिस हेडले ३९ बलमा शतक प्रहार गर्दै टोलीलाई २ सय ८८ रनको स्कोरमा पुर्‍याएका हुन्। इनिङ्स सकिएपछि हेडले अब आफ्नो लक्ष्य ३०० रनको टार्गेट दिनु रहेको बताएका छन्।

बैंगलुरुविरुद्धको पहिलो इनिङ्सपछि प्रसारकहरूसँग कुरा गर्दै हेडले भने, ‘हाम्रो स्कोरमा अब तीन अंक आवश्यक छ। हामी सधैँ रोमाञ्चक हुन चाहन्छौँ, हामी सधैँ खेलमा अगाडि हुन चाहन्छौँ। पावरप्लेको पूरा फाइदा उठाउन सकियोस् भनेर प्याट र ड्यानियलले हामीलाई स्वतन्त्र खेल्न दिएका छन्। त्यसैले हामीले खुलेर खेलिरहेका छौँ।’

उनले भने  ‘हामीसँग मध्यक्रममा राम्रा ब्याट्सम्यान छन्। त्यसैले सकेसम्म स्लो नखेल्ने प्रयास गर्छौँ। हरेक खेलमा ग्यारेन्टी दिन सक्दैनौँ, तर अहिलेका लागि हामीले राम्रो गर्दैछौं र हरेक खेलमा हामीले चाहेको स्कोर बनाइरहेका छौँ,’ ।

बेंगलुरुविरुद्ध हैदरावादले कुल २२ छक्का प्रहार गर्यो, जुन आईपीएल इतिहासमा कुनै पनि टोलीले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो र  ती मध्ये ९ वटा छक्का हेड एक्लैले प्रहार गरेका थिए।

पावरप्लेमा हेडले अर्का ओपनर अभिषेक शर्मासँग ७६ रनको साझेदारी गरेका थिए। हेड १३औँ ओभरमा ४१ बलमा १०२ रन बनाएर आउट भए।

हेड आउट भएपछि पनि बेंगलुरु खेलमा फर्किन सकेन। तेस्रो नम्बरमा आएका क्लासनले ३१ बलमा ६७ रनको इनिङ्स खेले। एडेन मार्करामले १७ बलमा अविजित ३२ र अब्दुल समदले १० बलमा ३७ रन बनाए ।

हैदरावादले बनाएको स्कोर टी२० क्रिकेटमा दोस्रो उच्च हो। सन् २०२३ को एशियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।

आइपिएल इतिहासकै सर्वाधिक योगफल

गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले प्रतियोगिताकै सर्वाधिक रनको रेकर्ड बनाएको छ। दुई साताअघि आफैले बनाएको २७७ रनको रेकर्ड तोड्दै हैदरावादले बैंगलुरुमाथि ३ विकेटको क्षतिमा २८७ रन जोडेको हो।

आइपिएल इतिहासकै सर्वाधिक स्कोर बनाएको हैदरावादका लागि अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले शतक प्रहार गरे। उनले ४१ बलमा १०२ रन बनाउने क्रममा ९ चौका र ८ छक्का प्रहार गरे।

अभिषेक शर्माले २२ बलमा ३४ रन जोड्दा हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६७ रन जोडे। एडिन मक्रमले १७ बलमा नटआउट ३२ रन र अब्दुल समादले १० बलमा नटआउट ३७ रन जोड्दा ४ चौका र ३ छक्का प्रहार गरे। बलिङतर्फ लोकी फर्गुशनले २ तथा रिस टोप्लीले एक विकेट लिए।

दुवै इनिङ गरी ३८ छक्का र ४३ चौका प्रहार भए। हैदरावादले कीर्तिमानी २२ छक्का र १९ चौका प्रहार गर्‍यो। जवाफी ब्याटिङ गरेको बैंगलुरूले १६ छक्का र २४ चौका प्रहार गर्‍यो। हैदरावादले सर्वाधिक योगफल बनाउने क्रममा आफ्नै कीर्तिमान तोडेको हो। हैदरावादले जारी सिजनमै मुम्बई इन्डियन्सविरूद्ध २७७ रन जोडेको थियो।

त्यतिबेला त्रविस हेडले २४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन, अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन, एडिन मक्रमले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट ४२ रन र हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ८० रन जोडेका थिए।

उक्त खेलमा मुम्बई ३१ रनले पराजित भएको थियो। यही सिजनमा कलकत्ता नाइट राइडर्सले पनि उच्च स्कोर बनाएको थियो। उसले दिल्ली क्यापिटल्सविरूद्ध २७२ रन बनाएको थियो। त्यतिबेला दिल्ली १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। अंकतालिकामा हैदरावाद ६ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा छ भने ७ खेल खेलेर ६ खेल हारेको बैंगलुरू पुछारमा छ।