काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । नेपाल र साउदीबीचको खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ ।
एक खेलअगावै समूह ‘ए’ विजेता बनेको नेपाल चौथो खेलमा पनि सहज जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट, दोस्रोमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हकङकङलाई ८ विकेटले हराएको थियो । नेपाल साउदीविरुद्ध कीर्तिमानी जित निकाल्ने योजनामा छ ।
हालसम्म यी दुई टिमले एकअर्काविरुद्ध टी–२० आई म्याच खेलेका छैनन् । बुधबार नेपाल पहिलो भेटमै साउदी अरेबियाविरुद्ध ऐतिहासिक जित निकाल्न चाहन्छ । साउदी नेपाललाई जिल्ल पार्दै सेमिफाइनलको यात्रा गर्ने दाउमा छ ।
ऊ अहिले २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । साउदी सेमिफाइनलमा पुग्न नेपालसँगको खेल जित्नैपर्ने दबाबमा छ । आफ्नो दोस्रो खेलमा हङकङलाई ५५ रनले हराउँदै इतिहास रचेको साउदी टिममा आत्मविश्वास बढेको छ ।
यद्यपि उसले तेस्रो खेलमा कतारसँग १५ रनको पराजय बेहोर्यो। आइसिसी वरीयताको कुरा गर्दा हाल साउदी ३१औँ र नेपाल १७औँ स्थानमा छ ।
साउदी अरेबियाविरुद्ध नेपालले प्लेइङ–११ मा तिन खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले बुधबार कुशल भुर्तेललाई विश्राम दिएर अनिल साहलाई मौका दिने सम्भावना रहेको छ ।
नेपालको ओपनरमा अनिल शाह र आसिफ शेखको सम्भावना छ । ओपनर कुशल भुर्तेललाई यस खेलमा आराम दिई बेन्चमा रहेका अनिलकुमार शाहले मौका पाउने सम्भावना छ । तेस्रो नम्बरमा नियमित झै कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।
पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा हङकङविरुद्धको खेलमा खेलेका करण केसीको स्थानमा विवेक यादवले मौका पाउने सम्भावना छ ।
नवौं नम्बरमा यस अघिको खेलमा टिममा रहेका सोमपाल कामीको स्थानमा प्रतिश जिसीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।
नेपालको सम्भावित प्लेईङ-११ : अनिल शाह, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, विवेक यादव, प्रतिश जिसी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।