एसीसी प्रिमियर कपमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

Image

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ । नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

युएईले समूह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई पराजित गरेसँगै युएई समूह बी को उपविजेता बनेको हो ।

आजै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा कोम्बोडियालाई ९ विकेटको फराकिलो अन्तरमा पराजित गरि युएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो । जित सँगै ओमान ४ खेलमा ८ अंक सहित समूह बी को विजेता बनेको छ । युएई ६ अंक सहित दोस्रो रहँदै सेमिफाइनलमा पुगेको छ ।

नेपाल समूह ए मा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा नेपालले कतार, मलेसिया, हङकङ र साउदी अरेबियालाई पराजित गरेको थियो । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । समूह ए को विजेता नेपाल र समूह बी को उपविजेता युएई पहिलो सेमिफाइनलमा भिड्नेछन् ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमान तथा समूह ए को उपविजेता हङकङबीच खेल हुनेछ । नेपाल र युएई बीचको पहिलो सेमीफाइनल शुक्रबार ११:४५ बजे हुनेछ ।

ओमान र हङकङ बीचको खेल भने सोही दिन ४:१५ बजे हुनेछ । दुवै सेमिफाइनलका विजेताबीच आइतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनलको विजेता टोलीले एसिया कप २०२५ मा स्थान बनाउने छ ।

नेपाल यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । गत वर्ष घरेलु मैदानमा युएईलाई पराजित गरि नेपाल पहिलो पटक एसिया कपमा छनोट भएको थियो ।