Khabar Board

गएराती मुम्बईको जित भएसँगै कप्तान पाण्ड्यालाई भने लाग्यो ठुलो झट्का

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इण्डियन्स विजयी भयो। मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई नौ रनले हरायो ।

तर मुम्बई इण्डियन्स विजयी भएसँगै कप्तान हार्दिक पाण्ड्यालाई भने १२ लाख भारु जरिवाना गरिएको छ । गएराती सम्पन्न खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरी यो गल्ति दोहोराएमा उनलाई यस भन्दा ठुलो जरीवाना हुने बोर्डले जनाएको छ । यस सीजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।

यस्तै मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई नौ रनले हरायो । एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो । आशुतोश शर्माले विस्फोटक ब्याटिङ गरे पनि अन्तिम तीन ओभरमा मुम्बईका बलरले तीन विकेट लिँदा जित नजिक पुगेको पञ्जावले पराजय भोग्यो ।

७७ रन बनाउँदा ६ विकेट गुमाइसकेको पञ्जावका लागि आशुतोषले २८ बलमा दुई चौका र सात छक्का प्रहार गरेर ६१ रन बनाए । यस्तै शशांक सिंहले २५ बलमा ४१ रन बनाए ।

बलिङतर्फ जस्प्रित बुम्राह र जेराल्ड कोट्जीले तीन तीन विकेट लिए भने आकाश मधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले एक एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो ।

यसका लागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए । उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए ।

बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने साम करनले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे । जीतसँगै मुम्बई ६ अंक बनाउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाव नवौं स्थानमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.