नेपालले टस हार्यो, नेपालको प्लेइङ–११ मा एक खेलाडी परिवर्तन

Image

काठमाडौं ।  एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।

यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन् ।

नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी

यूएईको प्लेइङ ११ : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, र विष्णु सुकुमारान ।

बेन्च : राहुल भाटिया, राजा अकिफ, टानिश सुरी

नेपालका लागि यूएई पुरोना प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।

ओमानमा जारी दोस्रो संस्करणमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

त्यसपछि नेपालले समूहगत चरणको आफ्नो दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । नेपालले चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजयको स्वाद चखाएको थियो ।

अर्कोतिर, यूएई भने समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले समूहगत चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो । यूएईले आफ्नो पहिलो खेलमा कुवेतलाई सात विकेटले हराएको थियो ।

यूएईले दोस्रो खेलमा बहराइनमाथि ३७ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने यूएईको टोली आयोजक ओमानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यूएईले चौथो खेलमा कम्बोडियालाई नौ विकेटले हराएको थियो ।