तेस्रो स्थानको लागि नेपाल र हङकङ भिड्ने, युएई र ओमानबीच उपाधिका लागि प्रतिस्पर्धा

Image

काठमाडौं । आयोजक ओमान एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा हङकङ चाइनालाई ५ विकेटले हराउँदै ओमान फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा हङकङले दिएको १ सय ३१ रनको लक्ष्य ओमानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अकिब इलियासले अर्धशतकीय पारी खेले । अविजित रहेका इलियासले ५१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ६२ रन बनाए ।

यस्तै, खालिद कैलले अविजित १६, कप्तान जीशान मक्सूदले १५, आयन खानले १२, प्रतीक आठवालेले ११ र नसीम खुसीले १० रन जोडे । हङकङका लागि एजाज खानले ४ ओभरमा १६ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी मैदान वानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन बनायो ।

उसका लागि जीशान अलीले अविजित ३६, बाबर हयातले ३३, कप्तान निजाकत खानले १९ र मार्टिन कोएत्जीले १२ रन बनाए । ओमानका लागि अकिब इलियास र बिलाल खानले तीन/तीन, फयज बट्ट, कलिमुल्लाह र कप्तान जीशान मक्सूदले एक/एक विकेट लिए ।

अब ओमानले उपाधिका लागि आइतबार यूएईको सामना गर्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा यूएई विजयी भयो । उसले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनायो । प्रतियोगिताको फाइनल आइतबार तथा नेपाल र हङकङबीचको खेल शनिबार हुनेछ ।