काठमाडौँ। लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल र चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाडलाई इन्डियन प्रिमियर लिग (आईपीएल)मा जरिबाना लागेको छ। स्लो ओभर रेटका कारण उनीहरूलाई जरिबाना तिराइएको हो।
आईपीएल आचारसंहिताअन्तर्गत यी टोलीहरूको यो पहिलो अपराध थियो। जसका कारण राहुल र ऋतुराजलाई मात्र जरिबाना लगाइएको छ। भविष्यमा यस्ता गल्ती भए यी दुई कप्तानलाई केही खेलमा प्रतिबन्धसमेत हुन सक्छ।
‘लखनउका कप्तान राहुल चेन्नईविरुद्धको खेलमा स्लो ओभर रेटमा दोषी पाइयो। त्यस्तै, चेन्नईका कप्तान गायकवाडलाई पनि स्लो ओभर रेटका कारण जरिबाना गरिएको छ,’ आईपीएलले विज्ञप्तिमा भनेको छ।
चेन्नईका लागि महेन्द्रसिंह धोनीबाहेक अजिंक्य रहाणेले २४ बलमा ३६ रन, रवीन्द्र जडेजाले ४० बलमा ५७ रन र मोइन अलीले २० बलमा ३० रन बनाए। लखनउका कृणाल पाण्ड्याले दुई विकेट लिए। जवाफमा लखनउले १९ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। क्विन्टन डी ककले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको इनिङ्स खेले।
योसँगै कप्तान केएल राहुलले ५३ बलमा ९ चौका र तीन छक्काको मद्दतले ८२ रन बनाए। निकोलस पूरन १२ बलमा २३ रन बनाएर अविजित रहे भने मार्कस स्टोइनिस ७ बलमा ८ रन बनाएर अविजित रहे।