दिल्लीमाथि हैदराबादको सानदार जित, दोस्रो स्थानमा उक्लियो

Image

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ३५ औं खेलमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्सलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबादले ६७ रनको जित निकाल्यो । हैदराबादले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलब १ ओभरमा अल आउट हुदै १ सय ९९ रन मात्र बनायो ।

दिल्लीका लागि ज्याक फ्रजरले १८ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । अभिषेक पोरेलले २२ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । कप्तान रिषभ पन्तले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाए ।

हैदराबादका लागि टि नटराजनले चार तथा नितिशकुमार रेड्डि र मंयक मारकन्डेले समान दुई दुई विकेट लिए । वासिंटन सुन्दर, भुवनेश्वर कुमारले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले ३२ बलमा ११ चौका र ६ छक्काको सहयोगमा ८९ रनको अर्धशतकीय ईनिङ खेले । शाहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर अभिसेक शर्माले १२ बलमा २ चौका र ६ छक्काको सहयोगमा ४६ रनको ईनिङ खेले ।

पहिलो विकेटका लागि शर्मा र हेडले ३७ बलमा १ सय ३१ रनको बिष्फोटक शतकीय साझेदारी गरे । सातौं ओभरको दोस्रो बलमा शर्मा आउट भएसँगै यो साझेदारी तोडिएको थियो । सातौं ओभरमा नै नयाँ ब्याटर एडेन माक्ररम १ रनमा आउट भएसँगै हैदराबादको रनमा केही अकुंश लागेको थियो ।

हेनरिक क्लासनले रन गति बढाउने संकेत गरेपनि उनी पनि ८ बलमा १५ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका नितिश रेड्डि र अहमदले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गरे । रेड्डिले २७ बलमा ३७ रन तथा अब्दुल समादले ८ बलमा १ चौका र १ छककाको सहयोगमा १३ रन बनाए ।

दिल्लीका लागि कुलदिप यादवले चार महत्वपुर्ण विकेट लिए । यादवले ओपनरद्वय शर्मा र हेड तथा माक्ररम र रेड्डिलाई आउट गराएका थिए । मुकेश कुमार र अक्षर पटेलले समान एक एक विकेट लिए ।

सातौं खेलमा पाँच जितका साथ हैदराबाद दोस्रो स्थानमा उक्लिएको छ । आठौं खेलमा पाँचौं हारका साथ दिल्ली अंक तालिकाको सातौं स्थानमा छ ।