काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ३५ औं खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई २ सय ६७ रनको लक्ष्य दिएको छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रन बनायो ।
हैदराबादका लागि ओपनर ट्राभिस हेडले ३२ बलमा ११ चौका र ६ छक्काको सहयोगमा ८९ रनको अर्धशतकीय ईनिङ खेले । शाहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर अभिसेक शर्माले १२ बलमा २ चौका र ६ छक्काको सहयोगमा ४६ रनको ईनिङ खेले ।
पहिलो विकेटका लागि शर्मा र हेडले ३७ बलमा १ सय ३१ रनको बिष्फोटक शतकीय साझेदारी गरे । सातौं ओभरको दोस्रो बलमा शर्मा आउट भएसँगै यो साझेदारी तोडिएको थियो । सातौं ओभरमा नै नयाँ ब्याटर एडेन माक्ररम १ रनमा आउट भएसँगै हैदराबादको रनमा केही अकुंश लागेको थियो ।
हेनरिक क्लासनले रन गति बढाउने संकेत गरेपनि उनी पनि ८ बलमा १५ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका नितिश रेड्डि र अहमदले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गरे । रेड्डिीले २७ बलमा ३७ रन तथा अब्दुल समादले ८ बलमा १ चौका र १ छककाको सहयोगमा १३ रन बनाए ।
दिल्लीका लागि कुलदिप यादवले चार महत्वपुर्ण विकेट लिए । यादवले ओपनरद्वय शर्मा र हेड तथा माक्ररम र रेड्डिलाई आउट गराएका थिए । मुकेश कुमार र अक्षर पटेलले समान एक एक विकेट लिए ।