एसिया कपमा स्थान बनाउन यूएई र ओमान भिड्दै

Image

काठमाडौँ । एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताको फाइनलमा आज आयोजक ओमान र यूएई खेल्दै छन् । यी दुई टोलीबीचको फाइनल भिडन्त आज अपरान्ह ४ः१५ देखि सुरु हुनेछ ।

ओमान अपराजित रहँदै फाइनल खेल्न लागेको हो । उसले सेमिफाइनलमा हङकङलाई ५ विकेटले हराएर फाइनलको यात्रा गर्‍यो । यूएई गत संस्करण विजेता नेपाललाई ६ विकेटले स्तब्ध बनाउँदै फाइनल खेल्न लागेको हो । आजको विजेता टिमले आउँदो वर्ष हुने टी–२० ढाँचाको एसिया कप खेल्न पाउनेछ ।

जारी प्रतियोगितामा ओमान र यूएई समूह ‘बी’ मा थिए । समूह चरणमा ओमानले यूएईलाई ९ विकेटले हराएको थियो । ऊ आज पनि सोही लय दोहोर्याउन चाहन्छ । यूएई भने उक्त हारको बदला लिँदै एसिया कपको यात्रा गर्न चाहन्छ ।

नेपाल भने यसपटक एसिसी प्रिमियर कपको चौथो स्थानमा रह्यो । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएपछि नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट हुन वञ्चित भयो ।