काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो ।
नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए ।
आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।
उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।
यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले प्लेइङ–११ मा हिजोकै खेलाडीले निरन्तरता पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ ११ : कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा