काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पछ्याएको लखनउले चार बल बाँकी हुँदा चार विकेटको जित निकालेको हो। सामान्य लक्ष्य पछ्याएको लखनउले ६ विकेटको क्षतिमा १९ दशमलव २ बलमा १४५ रन बनाएको हो।
लखनउको जितका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए। ४५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। कप्तान केएल राहुल २८ र दिपक होडा १८ आउट हुँदा निकोलस पूरनले नटआउट १४ रन जोडे।
मुम्बईका लागि हार्दिक पाण्डेयले २६ रन खर्चिएर दुई विकेट लिए भने नुवान तुषारा, जिराल्ड कट्टेज र मोहम्मद नाबीले एकएक विकेट हात पारे। सुरुमा ब्याटिङ गरेको मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
इशान किशन ३२ रनमा आउट हुँदा टिम डेभिडले अविजित रहँदै ३५ रन बनाए। सुरुवाती ब्याट्सम्यान सूर्यकुमार यादव १० र रोहित शर्मा चार रनमै आउट भए। लखनउका मोहसिन खानले सर्वाधिक दुई विकेट लिए। मार्कस स्टोयनिस, नवीन उल हक, मयंक यादव र रवि विश्वोईले एकएक विकेट हात पारे।
यो जितसँगै लखनउ आईपिएलमा १२ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ । मुम्बई भने लखनउसँगको हारसँगै १० मा सात खेल गुमाउँदै तालिकाको नवौं स्थानमा छ। उसले जम्मा ६ अंक जोडेको छ। आईपिएल अन्तर्गत बुधबार चेन्नाई सुपर किंग्स र पञ्जाब किंग्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल बुधबार साँझ ७:४५ बजे सुरु हुँदैछ।