सोमपालले इतिहास रच्दै, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

Image

काठमाडौं । राष्ट्रिय क्रिकेट टिम नेपालका बलिङ अलराउन्डर सोमपाल कामीले इतिहास रच्ने भएका छन्। आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोलीमा स्थान पक्का गरेसँगै बलिङ अलराउन्डर सोमपाल कामीले इतिहास रच्ने भएका हुन्।

सोमपाल दुइटा टी-२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र क्रिकेटर छन् । साथै उनि २० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

सोमपालले नेपालको लागि पहिलो टी-२० र पहिलो एकदिवसीय खेल्ने टोलीबाट समेत खेलेका छन्। उनले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-२० विश्वकपमा हङकङविरूद्ध खेलेका थिए ।

नेपाली टोलीबाट डेब्यु गरेको एक वर्ष पनि नबित्दै उनले त्यतिबेला विश्वकप खेलेका थिए । उक्त विश्वकप खेलेका सोमपालबाहेक विनोद भण्डारीमात्र यस पटक छनोटको दौडमा थिए । तर, भण्डारी अन्तिम १५ सदस्यीय राष्ट्रिय टोलीमा अटाएनन् ।

२०१४ को विश्वकपमा सोमपालले हङकङविरूद्ध २ विकेट लिँदा बंगलादेश विरूद्धको दोस्रो खेलमा विकेटविहीन बने। अफगानिस्तान विरूद्धको खेलमा उनले २ विकेट हात पार्ने क्रममा एक मेडन फ्याँकेका थिए।

यस्तै सन् २०१८ मा नेपालले एकदिवसीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सोमपालले २०१८ मा नेदरल्यान्ड्स विरूद्धको पहिलो एकदिवसीय खेलमा पनि खेलेका थिए।

सोमपालले ६५ टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ७.१९ को इकोनोमीमा ५८ विकेट लिएका छन् भने ३१५ रन जोडेका छन् । उनको ब्याटिङ स्ट्राइक रेट ११५.३८ रहेको छ ।

नेपालले इतिहासमै दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । १० वर्षपछि छनोट भएर नेपालले आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने विश्वकप खेल्दैछ । नेपालले दोस्रो पटक विश्वकप खेल्दा समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा हुनेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरू जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।

नेपालका खेल

नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट

यो पनि : टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, क-कसले पाए माैका ?