काठमाडौँ । आज नेपालले टी-२० विश्वकपका लागि टोली घोषणा गर्दा स्टार बलर सन्दीप लामिछाने छुटे। अदालतमा मुद्दा चलिरहेको हुँदा उनी मिस हुनु अनपेक्षित थिएन ।
लामो समयदेखि नेपाली क्रिकेटको सेवा गरेका र नेपाललाई यो स्थानमा पुर्याउन भूमिका खेलेका सन्दीप विश्वकप जस्तो महत्वपूर्ण इभेन्टमा भने अनुपस्थित बन्ने भएका छन् ।
उनको नाम टोलीमा नहुँदा क्रिकेट समर्थकहरुले पनि खल्लो मानेको देखिन्छ । क्यानले गरेको पोस्टमा अधिकांशले सन्दीपको नाम लिएका छन् र उनको न्यायको माग गरेका छन् ।
सन्दीपको मुद्दा उच्च अदालतमा विचाराधीन छ । मुद्दाको फैसला भएर सफाइ नपाउँदासम्म क्रिकेटबाट सन्दीप टाढा रहनेछन् । विश्वकपको स्क्वाड घोषणा अगाडि उच्च अदालतबाट सन्दीपले सफाइ पाउने फ्यानहरुले अपेक्षा गरेका थिए ।
तर, त्यस्तो भएन । विभिन्न बहानामा उच्च अदालतका न्यायाधीशले सुनवाइ पछि धकेल्दै जाँदा पहिलोपटक टी-२० विश्वकप खेल्ने सन्दीपको सपना चकनाचुर बनेको छ ।
आफू क्रिकेटबाट टाढा भए पनि सन्दीपले नेपाली क्रिकेटलाई भने चासोका साथ पछ्याइरहेका छन् । उनी मोबाइलबाट हरेक खेलको अपडेट लिइरहेका हुन्छन् । वेस्ट इन्डिजसँगको दोस्रो टी-२० म्याच हेर्न उनी मैदानमै पुगेका थिए ।
नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’
यो पनि : टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, क-कसले पाए माैका ?