काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ ।
पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो ।
नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । यदि आज नेपालले टस जितेको खण्डमा पहिला ब्याटिङ गर्ने पक्का जस्तै छ ।
नेपालले पाँचौं खेलमा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले चौथो खेलमा विश्राम गरेका करण केसीले आज मौका पाउन सक्छन् । यस्तै सागर ढकाललाई पनि आजको खेलमा मौका दिने सम्भावना रहेको हो । । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट प्रदर्शन चाहन्छ ।
यस सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए । रोहित बाहेक अन्य ब्याटरको प्रदर्शन आएको छैन । विश्वकप अघि नेपाल सबै ब्याटरबाट प्रदर्शन चाहन्छ ।
उता नेपाल भ्रमणमा आएका ओपनर जोनसन चाल्र्स, स्पिन अलराउण्डर गुणाकेश मोती र रोश्टन चेश वेष्टइण्डिजको टी–२० विश्वकप टोलीमा परेका छन् । सिरिज जितेको वेष्टइण्डिज विना दबाब खेल्नेछ ।
नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने कार्यक्रमछ । त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न आउनेछ । विश्वकप २ जुनदेखि सुरु हुनेछ । नेपालले ४जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल ।