Khabar Board

टी-२० विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहितकुमार पौडेल

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० विश्वकपमा सबैभन्दा कम उमेरमा टोलीको कप्तानी गर्ने अवसर पाएने भएका छन् ।

दश वर्ष पछि नेपालले विश्वकप खेल्दै गर्दा नेपाली टोलीको कप्तानी गर्न मैदानमा रहने पौडेलले आफ्नो नाममा अर्को एक कीर्तिमान बनाउँने छन् । पौडेलले हङकङका जेम्स एटकिन्सनको नाममा रहेको कीर्तिमान भङ्ग गर्दै टी-२० विश्वकपमा टोलीको कप्तानी गर्ने सबैभन्दा कान्छा कप्तान बन्ने छन् ।

२०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालविरुद्ध नै कप्तानी गरि जेम्सले यो कीर्तिमान बनाएका थिए । जेम्सले नेपालविरुद्ध २३ वर्ष २ सय ५ दिन रहँदा कप्तानी गरेका थिए । सो खेलमा जेम्सले सोमपाल कामीबाट बोल्ड आउट हुनु अघि ६ रन मात्र बनाएका थिए ।

दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालले ४ जुन २०२४ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्दै गर्दा २१ वर्ष २ सय ७६ दिन रहँदा टीम नेपालको कप्तानी गर्ने छन् । पौडेलले २१ वर्ष २५ दिनमा नेपालका लागि टी-२० आईमा कप्तानको रुपमा डेब्यु गरेका थिए ।

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.