काठमाडौं । दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको उत्कृष्ट फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा सानदार जित हासिल गरेको छ ।
पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी हुँदा पूरा गयो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ५२ र सोमपाल कामीले ३५ रन बनाए ।
ओपनर कुशल भुर्तेलले ७० र आशिफ शेखले २६ रन बनाए ।एक समय १४.२ ओेभरमा ११८/६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए ।
अन्तिम २ ओभरमा ३८ रन चाहिंदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो ।
नेपालका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झा सस्तैमा आउट भए । त्यसअघि पार्क हिल प्लेइङ फिल्डमा टस हारेर ब्याटिङ गरेको भोलक्यानोजले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । नेपालका रोहित पौडेलले तीन र प्रतिश जिसीले एक विकेट लिए ।
नेपालले विनवार्ड्स विरुद्ध २ थप अभ्यास खेल खेल्नेछ । नेपाल र विनवार्ड्सबीचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुँदैछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।
नेपालको प्लेइङ ११ : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, सागर ढकाल