काठमाडौं । विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास बलियो योगफल खडा गरेको छ । पार्क हिल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८० रन बनायो ।
नेपालका लागि अनिल साहले सर्वाधिक ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेल ४१ रन जोडे । पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालमा लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरेका थिए ।
कुशलले १० ओभरमा आउट हुँदासम्म २५ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोरा र गुलशन झा समान २-२ रन बनाएर आउट भए । सोमपाल कामी ३ रनमा र अविनाश बोहोरा शून्यमा नटआउट रहे ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका सागर ढकाल र करण केसी टोलीबाट बाहिरिएका छन् भने ललित राजवंशी र अविनाश बोहोरा प्लेइङ-११ मा अटाएका छन् । पहिलो खेलमा बाहिर रहेका कुशल मल्ल र कमल सिंह ऐरी भने आज समेत बाहिर रहेका छन्।
नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । एक समय नेपालको पहुँचबाट निकै टाढा पुगेको खेलमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक फिनिश गर्दै जित दिलाएका थिए । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।
१८ मेमा आजकै प्रतिद्वन्दी विरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।
नेपालको प्लेइङ ११: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, अविनाश बोहोरा, प्रतिश जिसी, ललित राजवंशी