एक खेल अगाबै सिरिज जितिसकेको नेपाल, तेस्रो अभ्यास खेलमा भोलक्यानोजसँग पराजित

Image

काठमाडौँ । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । शनिबार राति सम्पन्न तेस्रो अभ्यास खेलमा नेपाल ६७ रनले पराजित भएको हो ।

भोलक्यान्सले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलब २ ओभरमा अल आउट हुँदै १ सय ३८ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए । ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भोलक्यान्सले २० ओभरमा २ सय ५ रन बनाएको थियो । डिलनले ३२ बलमा ५६ रन बनाए भने शाद्रकले २७ बलमा ५५ रनको योगदान गरे । नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

मुख्य प्रशिक्षक मोन्टी देसाईंले यस खेलमा तेस्रो खेलमा नेपालले यसअघिको खेलबाट तीन परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा टोलीमा थिएनन् । उनीहरूको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए । कमलको यो तीन खेल शृंखलाको पहिलो खेल हो भने कुशल मल्ल तीनवटै खेलमा प्लेइङ-११ मा परेनन् ।

तीन अभ्यास खेलमा नेपालले दुई जित हासिल गर्‍यो। बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ४९ रनले विजयी भएको थियो । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

यस खेलमा पराजित भए पनि नेपालले तीन खेलको अभ्यास सिरिज एक खेल अगाबै जितिसकेको थियो । यो अभ्यास सिरिजसँगै विश्वकप अघि नेपालले वेस्ट इन्डिज भ्रमण सकेको छ । अब नेपाली टोली अमेरिका तर्फ लाग्नेछ ।नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा अमेरिका र क्यानडा विरुद्ध २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

नेपालको प्लेइङ ११ : रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, करण केसी, प्रतिश जिसी, अविनाश बोहोरा, सागर ढकाल, सोमपाल कामी