सन्दीप लामिछाने अमेरिका जाने बारे यस्तो भन्छन् क्यान अध्यक्ष चतुरबहादुर चन्द

Image

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही दिन भित्र अमेरिका उड्ने बताए ।

उनले भने ‘आइसीसीबाट सन्दीपको सहभागीताका लागि सबै बाटो खुलि सकेको छ । उनलाई अमेरिका पठाउन क्यान तत्पताका साथ लागि रहेको छ । केही प्राविधिक समस्याका कारण ढिलाई भएको छ । तर, उनी जाने पक्का भईसकेको र केही दिनमा उनी उड्ने छन् ।’

बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग सन्दीप आईसीसी टी २० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको हो। बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले प्रक्रिया सुरु गरेको थियो।

तर यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन। तर आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।

यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो। तर केही समयअघि मात्र आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले सन्दीपलाई पठाउने प्रक्रिया सुरु गरेको हो।

क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तानसमेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो। जिल्ला अदालतले दोषी ठहर गरेलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ। १० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।