Khabar Board

नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित

काठमाडौ । आगामी महिना हुने टी-२० विश्वकपमा नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित भएको छ । बंगलादेशविरुद्धको तीन खेलको टि-२० सिरिजको पहिलो खेलमा अमेरिकाले जित दर्ता गरेको छ । बंगलादेशलाई अमेरिकाले ५ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित सर्वाधिक ३४ रन बनाए ।

हरमित सिंहले १३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोडे । स्टेभेन टेलरले २८ तथा आन्द्रेस गुसले २३ रनको योगदान गरे । बंगलादेशका लागि मुस्तफिजुर रहमानले २ तथा शोरीफूल इस्लाम र ऋषाद होसेनले १-१ विकेट लिए ।

त्यसअघि प्रेरि भ्यू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । बंगलादेशका लागि टोहिद हृडोयले ४७ बलमा सर्वाधिक ५८ रन बनाए । महमदुल्लाहले ३१ तथा सौम्य सरकारले २० रन जोडे । अमेरिकाका लागि स्टेभेन टेलरले २ तथा सौरभ नेत्रभल्कर, अलि खान र जेसी सिंहले १-१ विकेट लिए ।

शृंखलाको दोस्रो खेल बिहीवार हुनेछ । पराजित बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा हुँदैछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.