काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार टिमको सहायक प्रशिक्षकको जिम्मेवारी घिमिरेलाई र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मनिष तिमल्सिनालाई सुम्पिएको हो ।
उनीहरू यसअघि सहायक प्रशिक्षक रहेका प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षक विनोद डंगोलको स्थानमा आएका हुन् ।नेपाली टिमले फिफा विश्वकप छनोट–२०२६ अन्तर्गत दोस्रो चरणमा जुन ६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) र जुन ११ मा यमनविरुद्ध खेल्ने तालिका छ । यी दुवै खेल साउदी अरेबियामा हुनेछन् ।
यसअघि यूएईविरुद्धको खेल नेपालमा हुने तालिका रहे पनि एसियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशाला अयोग्य रहेको बताएपछि खेल ‘तटस्थ भूमि’मा सरेको हो ।छनोटको समूह ‘एच’मा रहेको नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन ।