काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुदैछ । यस विश्वकपमा नेपालले दश वर्ष पछि सभागीता जनाउँदै छ । यो विश्वकपमा २० राष्ट्रको सहभागीता रहेको छ ।
नेपाल समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन् । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्ने छ । नेपालले समूह चरणमा चार खेल खेल्दैछ । यी चार खेल हुने मैदानहरु यसप्रकारका रहेका छन् ।
ग्रान्ड प्रियरि क्रिकेट स्टेडियम
४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्ने छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा हुनेछ । यो खेल अमेरिकाको टेक्सासमा रहेको ग्रान्ड प्रियरि क्रिकेट स्टेडियममा हुनेछ । टेक्सासमा रहेको यस मैदानमा विश्वकप समूह चरणका चार खेल हुदैछन् । यस मैदानको दर्शक क्षमता ७ हजार रहेको छ ।
सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउन्ड, लाउडरहिल
१२ जुन अर्थात जेठ ३० मा नेपालले श्रीलंकासँग खेल्दै छ । नेपाल र श्रीलंकाबीचको खेल सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउन्ड, लाउडरहिलमा हुदैछ । नेपाली समय अनुसार बिहान सवा पाँचमा हुनेछ । यस मैदानमा हालसम्म १२ ओडिआई तथा ३२ वटा टी-२० आई खेल भएका छन् । २० हजार दर्शक क्षमताको यस मैदानमा विश्वकपका चार खेलहरु आयोजना हुदैछन् ।
आर्नोस भाली क्रिकेट स्टेडियम
दुई खेल अमेरिकामा खेलेपश्चात समूह चरणको बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । समूह चरणको तेस्रो खेलका रुपमा नेपालले १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । र, समूह चरणको चौथो तथा अन्तिम खेलका रुपमा १७ जुन अर्थात असार ३ मा नेपालले बंगलादेशको सामना गर्ने छ ।
यि दुवै खेल नेपाली समय अनुसार बिहान सवा ५ मा सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भाली क्रिकेट स्टेडियममा हुनेछ । यस स्टेडियममा छ वटा टेस्ट, ४६ वटा ओडिआई तथा ४ टी-२० खेल भएको छ । समूह चरण र सुपर आठका गरि यस मैदानमा पाँच खेल हुदैछन् ।