विश्वकप अघि वेस्ट इन्डिजलाई लाग्यो ठूलो झटका, यी प्रभावशाली खेलाडी टोलीबाट बाहिरिए

Image

काठमाडौँ । आईसीसी टी–२० विश्वकप आयोजना गर्न लागेको वेस्ट इन्डिज क्रिकेट टोलीलाई प्रतियोगिता सुरु हुनुअघि नै ठूलो झट्का लागेको छ । दुई पटकको च्याम्पियन टोलीका प्रभावशाली अलराउन्डर जासन होल्डर विश्वकप टोलीबाट बाहिरिएका छन्।

३२ वर्षीय जासन होल्डर टी–२० विश्वकपको सँघारमा चोटका कारण टोलीबाट बाहिरिएका हुन् । काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा जासन होल्डर घाइते भएका हुन् । उनी क्यारेबियन टोलीका पूर्वकप्तान पनि हुन्।

टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । जासन होल्डरको स्थानमा बायाँहाते तिब्रगतिका बलर ओबेद मकोएलाई विश्वकप टोलीमा स्थान दिइएको छ।

ओबेद मकोए सोमबार सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा पनि क्यारेबियन टोलीमा सहभागी थिए । उक्त शृङ्खलामा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३–० ले हराएको थियो । काउन्टी च्याम्पियनसिपको केन्टविरुद्धको खेलमा उनले वर्केस्टरशायरका लागि शतक पनि बनाएका थिए । काउन्टी च्याम्पियनसिपको केन्टविरुद्धको खेलमा उनले वर्केस्टरशायरका लागि शतक पनि बनाएका थिए ।

यद्यपि, क्रिकेट वेस्ट इन्डिजले जासन होल्डरको चोटको विषयमा विस्तृत रुपमा केही बताएको छैन । वेस्ट इन्डिज क्रिकेट टोलीका प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले प्रभावशाली अलराउन्डर जासन होल्डर विश्वकप टोलीबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । जासन होल्डर टोलीका अनुभवी खेलाडी भएकाले विश्वकपमा उनको अभाव खड्किने डेसमन्डको ठम्याई छ ।

‘विश्वकपमा जासन होल्डरको अनुपस्थिति हाम्रा लागि चिन्ताको विषय हो । उनी टोलीका अनुभवी अलराउन्डर हुन् । उनी छिट्टै टोलीमा फर्कनेछन् भन्ने विश्वास हामीले लिएका छौँ । विश्वकपको सँघारमा क्रिकेट वेस्ट इन्डिजका लागि यो दुर्भाग्यपूर्ण क्षण हो,’ प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले भनेका छन् ।

उनले ओबेद मकाए पनि क्षमतावान् खेलाडी भएको बताए । ‘ओबेद मकाए पनि प्रतिभाशाली खेलाडी हुन् । उनका लागि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाउने यो उपयुक्त अवसर पनि हो,’ डेसमन्ड हेन्स भन्छन् ।

केही समयअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा आएको थियो । त्यतिबेला ओबेद कमाए पनि क्यारेबियन टोलीमा थिए । नेपाल भ्रमणका क्रममा उनले पाँचवटा टी–२० खेलमा कुल ८ विकेट लिएका थिए । हालै सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा पनि उनले दुई विकेट लिएका थिए ।